केपी ओलीलाई कम्युनिस्ट बनाउन सकिएन : नेपाल

 नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिस्ट बनाउन नसकिएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले केपी शर्मा ओली सच्चिन तयार नभएको बताएका हुन्।

केपी शर्मा ओलीलाई लक्षित गर्दै नेता नेपालले भने, ‘‘कम्युनिस्ट पार्टी मार्क्सवाद–लेनिनवादको सिद्धान्तमा चल्छ। कम्युनिस्ट पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्तमा चल्छ। कम्युनिस्ट पार्टीमा मनपरी चल्दैन। हामीले पार्टीका अध्यक्ष केपी ओलीलाई मार्क्सवाद–लेनिनवादको सिद्धान्तका आधारमा चल्न र सच्चाउन कोशिस गर्‍यौं। लेनिनवादी संगठनात्मक प्रणालीमा हिँड्न आग्रह गर्‍यौं। तर, सच्चिने कुनै गुञ्जायस छैन। ओलीलाई कम्युनिस्ट बनाउन सकिएन।’’

“ओलीले कहिले पनि महत्त्वपूर्ण विषयमा छलफल हुन दिनुभएन। बैठक चलिरहेका बेला बैठकको बीचबाटै उठेर हिँडिदिने गर्नुभयो। त्यसो हुँदा पार्टी विधि, पद्धतिमा कहिल्यै चल्न सकेन,” उनले भने। नेता नेपालले ओलीले पार्टीको अध्यक्ष बन्न नसकेको र निरन्तर गुटगत गतिविधिलाई जारी राखेको निष्कर्ष निकालेका छन्। “पार्टीलाई विधिबाट विमुख बनाएर कागजमा सीमित राख्नुभयो,” नेपाल आफ्नो तर्कमा उभिए।

ओलीले जनसंगठन, निकाय, विभागलाई पूर्णता दिन र एकताको कार्यभार पूरा गर्न नसकेको नेपालले आरोपित गरेका थिए। प्रधानमन्त्री ओलीले आफूखुसी, मनपरी ढङ्गले, अयोग्य र आफ्नो गुटका मानिसहरूलाई गोजीबाट फुत्त निकालेर नियुक्ति दिएको भन्दै नेपालले अर्को आरोप लगाएका थिए।

भ्रष्ट, आसेपासेको संरक्षण हुने गरेको र आफ्नो गल्ती ढाकछोप गर्न, लुकाउन पार्टीका अरू सदस्यलाई, नेतालाई हिलो छ्याप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति नेता नेपालले आक्रोश पोखेका थिए। नेपालले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा प्रोत्साहन गरेको, भ्रष्ट र आसेपासेहरूको संरक्षण हुने गरेको, आफूसँग असहमत हुनेहरूलाई शत्रुतापूर्ण व्यवहार गरेको आरोपित बताए।