प्याब्सन र एनप्याब्सानले देशभरिका निजी विद्यालय बन्द गर्ने र शिक्षक कर्मचारीलाई साउन १ गतेबाट बेतलबी बिदा दिने निर्णय गरे । यो निर्णयपछि ती स्कुलमा कार्यरत शिक्षक र कर्मचारी आन्दोलित भएका छन् ।
लकडाउन खुकुलो बन्दै गएको र विभिन्न माध्यमबाट अध्यापनसमेत भइरहेको समयमा विद्यालय सञ्चालकले अचानक गैरजिम्मेवारी निर्णय गरेको उनीहरुको आरोप छ । निजी तथा संस्थागत विद्यालय कर्मचारी युनियन (प्याब्सियु) कास्कीले बिहीबार प्याब्सन र एनप्याब्सानद्धारा प्रकाशित विज्ञप्तिको खण्डन गर्दै आन्दोलनको तयारी गरेको छ ।
प्याब्सियु नेपाल उपाध्यक्ष शिवलाल उपाध्यायले आफूहरु बाध्य भएर आन्दोलनमा जान लागेको बताए । कास्कीमा २, ४ दिनमा विद्यालय खोल्ने वातावरण बन्दै गएकोमा अचानक सञ्चालकहरुले मनोमानी निर्णय गरेको उनको आरोप छ ।
उपाध्यायले पोखरा महानगरमा बिहीबारै वार्ता भए पनि समाधान ननिस्केको जानकारी दिए । महानगरका शैक्षिक विभाग प्रमुखले असार ४ गतेसम्म समस्याको समाधान हुने आश्वासन दिएको उनले बताए । उनले भने, ‘समस्याको समाधान नभए ५ गतेबाट हामी सबै ठाउँमा ताला लगाउँछौं र त्यही दिनबाट आन्दोलनमा उत्रिन्छौं ।’ समस्याको समाधान नभए ५ गते आन्दोलनका कार्यक्रम घोषणा गरिने उल्लेख गरे ।
प्याब्सियु गण्डकी सचिव मीलन तिमिल्सिनाले निजी विद्यालयका शिक्षकको घरमा आगो नबल्ने अवस्था आएको र यस्तो अवस्थामा सञ्चालकहरु गैरजिम्मेवारी बनेको आरोप लगाए । उनले गण्डकी प्रदेशमा मात्रै ४० हजार यस्ता शिक्षक रहेको उल्लेख गरे ।
प्याब्सियु पोखरा अध्यक्ष विजयराज अधिकारीले आफूहरुले सरोकारवाला निकायमा ज्ञापनपत्र र ध्यानाकर्षणपत्र बुझाइसकेको जानकारी दिए । समास्याको समाधान खोज्न निजी विद्यालयका शिक्षक र कर्मचारीलाई एकतावद्ध हुन पनि उनले आह्वान गरे ।










