पोखरामा वर्षाको कहर : ७ जनाको मृत्यु, ११ घाइते

अविरल वर्षाले पोखरा महानगरका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ ।

बिहीबार साँझदेखि परेको वर्षापछि विभिन्न ठाउँमा आएको पहिरोले ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले पोखरा २५ हेमजाको मेलबाट भन्ने ठाउँमा रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा रामचन्द्रकी आमा हिमकलाको मृत्यु भएको बताए ।

पोखरा–२६ मा आएको पहिरोमा परी घर भत्किँदा एक जनाको मृत्यु भएको छ । दुर्गाबहादुर सुनारको घर भत्किँदा उनको मृत्यु भएको हो।

पोखरा १८ को गोठादीमा गएको पहिरोमा टंकबहादुर थापाको घर भत्किएको छ । शुक्रबार बिहान गएको पहिरोमा परी टंकबहादुरकी श्रीमती सोममाया, छिमेकी इशिका थापा र टंकबहादुरका २ नातिको ज्यान गएको छ । घर भत्किँदा ८ जना घाइते भएका छन् ।

पोखरा १७ को सिमलटँुडामा पहिरो २ जना घाइते छन् । मृतकहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ भने घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको हमालले जानकारी दिए ।