अदालत जान्छु : सरिता गिरी

आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको दाबी गर्दै सांसद सरिता गिरीले अदालत जाने बताएकी छन् ।

पार्टी पदाधिकारी बैठकको निर्णयले उनलाई सांसद र पार्टी सदस्यबाट अनुशासनको कारबाही गरेपछि उनको यो भनाइ आएको हो । गिरीले भनिन्, ‘मलाई कारबाही गर्ने निर्णय अवैधानिक छ। म छिट्टै न्यायका लागि अदालत जान्छु।’

उनले संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने जिकिर गरिन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै दिएकी थिइन् ।

समाजवादीले महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय छानबिन कार्यदलले मंगलबार नै कारबाही गर्न सिफारिस गरेको थियो।