पोखरा महानगरपालिकामा कार्यरत ३ कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको छ ।
सहायकस्तर चौथो पदमा कार्यरत कर्मचारी यमुना श्रेष्ठले भद्रकाली माध्यमिक विद्यालय कुँडहर पोखराबाट कक्षा १० उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी पोखरा महानगरपालिकाबाट लाभ लिएको अख्तियारको दाबी छ ।
यस्तै, सहायक स्तर चौथो पदर्मै कार्यरत रामप्रसाद भट्टराई पनि प्रमाणपत्र नक्कली भेटिएको छ । उनले भानुभक्त आचार्य माध्यमिक विद्यालय गल्याङ स्याङजाबाट कक्षा १० टेष्ट उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ । यस्तै, नगर प्रहरी लोकबहादुर विकले पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएको अख्तियारको दाबी छ । विकले इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, कास्कीबाट टेष्ट परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।
तीनै जनाउपर आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको अख्तियार प्रवत्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।






