महाअभियोग लगाउन लागेकाले संसद अन्त्य : प्रधानमन्त्री

राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउन खोजेको थाहा पाएपछि संसद अधिवेशन अन्त्य गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्टीकरण दिएका छन् ।

नेकपा अध्यक्षसमेत रहेका ओलीले शनिबार साँझ भएको मन्त्रीपरिषद् बैठकमा यस्तो दाबी गरेका हुन् । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ? कसरी संगठन चल्दैछ प्रस्ट बुझ्न सकिन्छ,ु उनले मन्त्रीहरुलाई भनेका थिए ।

अब नेकपा एक रहने सम्भावना निकै कम भएको उनले बताएका थिए । मन्त्रीहरुलाई बालुवाटार बोलाएर उनले एकताका लागि आफूले प्रयास गरिरहेको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरेका हुन् । एक मन्त्रीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भने, ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ ।’

ओलीले देश र पार्टीलाई दुर्घटनाबाट बचाउने आफ्नो प्रयास अन्तिमसम्म रहने उल्लेख गर्दै आफूलाई मन पर्ने पक्षलाई साथ दिन आग्रह गरेका थिए । उनले स्थायी समितिको निर्णय नमान्ने पनि उल्लेख गरेका थिए ।

यता, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा भएको सचिवालयका ६ जना सदस्यको बैठकले ‘पार्टी एकता निम्ति अन्तिम कोसिस गर्ने’ निर्णय गरेको छ ।

बैठकले जारी स्थायी समिति बैठक नरोक्ने निष्कर्ष पनि निकालेको छ। शनिबारका लागि तय गरिएको बैठक सोमबारसम्मका लागि स्थगित भएको थियो।

प्रचण्ड र ओलिबीच भोली आइतबार बिहान १० बजे भेटवार्ता हुने भएको छ। यो बैठकमा बैठकमा पार्टी फुट्न नदिन अन्तिम प्रयास गरिने एक प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले बताए ।