दाहालसँग ओलीले भने : कारवाही गर्नुस्, अर्को पार्टी घोषणा गर्छु

नेकपा स्थायी समिति बैठक स्थगित भएको छ । आजलाई तय भएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाअध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसकेपछि स्थगित भएको हो ।

शुक्रबार ओलीसँग भएको भेटमा अध्यक्ष दाहाललाई ओलीले पार्टी फुटिसकेको बताएका हुन् । ‘पार्टी त फुटिसक्यो सही कुरा हो । भोलि तपाईंहरुले मलाई निकाल्नुस्, त्यसपछि म घोषणा गर्छु,’ ओलीले दाहालसँग भनेको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।

ओलीसँगको भेटमा भएका कुराकानीबारे दाहालले शुक्रबार साँझ सचिवालयका सदस्यहरुलाई जानकारी दिएका थिए । ओलीले प्रधामन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा नदिने अडान लिएका छन् भने प्रचण्ड नेपाल पक्षले दुवै पद छाड्नुपर्ने बताएको छ ।

पार्टी एकता नै गर्ने भए आफू वा नेपालमध्ये एक टीम रोज्न ओलीले दाहाललाई प्रस्ताव गरेका छन् । ओली समूहले वामदेव गौतम लगायतका नेतालाई आफ्नो पक्षमा ल्याउने कसरत जारी राखेको छ ।