झरीमा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन

देशका विभिन्न स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएका छन् । पोखरामा पनि शुक्रबार बिहान विद्यार्थी र युवाले ओलीको समर्थनमा प्रदर्शन गरे ।

वर्षाको परवाह नगरी प्रदर्शनमा उत्रिएकाहरुले भारतको विपक्षमा नारा लगाएका थिए। भारतको इशारामा ओलीलाई हटाउन खोजिएको भन्दै उनीहरुले ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका हुन् ।

सहभागीहरुल्े ‘देशको मुहार फेर्नु छ साथी पार्टीभन्दा राष्ट्रमाथि’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओलीले बिहीबार आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई निर्देशन दिएका थिए।

नेकपा अध्यक्षसमेत रहेका ओलीको पार्टीभित्रै दुवै पदबाट राजीनामा मागिएको छ । स्थायी कमिटी बैठकलाई छल्दै उनले बिहीबार संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए ।