ओली ग्याङकाे अध्यक्ष भए : मातृका यादव

नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीको स्वभाव पार्टीमा ग्याङ चलाएर फरक मतलाई सिध्याउन खोज्ने भएको बताएका छन्। प्रधानमन्त्री ओलीले पार्टी नभई ’ग्याङ’ चलाउने गरेको उनले बताए।

बुधबारको स्थायी कमिटी बैठकमा बोल्दै पूर्वमन्त्री यादवले अध्यक्ष प्रचण्डले फरक मतलाई बोक्ने गरे पनि अर्का अध्यक्ष ओलीले फरक मतलाई सिध्याउन खोज्ने गरेको आरोप लगाए। आफू केपी ओलीसँग लामो समयदेखि पार्टीमा आबद्ध नभएको भन्दै छोटो समय क्याबिनेट र पार्टीमा हुँदा केपी कमरेडलाई अलिअलि बुझे जस्तो लागेको बताए।

बैठकमा यादवले बोलेका कुरा उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँ (केपी ओली)पार्टी चलाउनु हुन्न ग्याङ चलाउनु हुँदोरहेछ। ग्याङमा फरक मतको स्थान हुँदैन। पार्टी चलाउनुभएको भए त फरक मत सुन्नुहुन्थ्यो होला। बहस, छलफल, विचार विमर्श गर्नुहुन्थ्यो होला। तर, उहाँ फरक मतलाई सिध्याउन खोज्नुहुन्छ।’

प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्मजयन्तीमा सरकारविरुद्ध भारत र काठमाडौंका कोठा चोटामा षडयन्त्र भएको भन्नु आपत्तिजनक भएको यादवले बताए। प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्ति राजनीतिक र कूटनीतिक दुवै दृष्टिकोणले गलत भएको यादवले बताए।

प्रधानमन्त्री ओली भौतिक, मानसिक र वैचारिक हिसाबले कमजोर भएको र पार्टी चलाउन नसक्ने भएकाले दुवै पदबाट राजीनामा गर्न यादवले सुझाब दिएका थिए। ‘पार्टीले पनि उहाँ (केपी ओली)लाई दुःख दिनुभएन। शरीरिक रुपमा यस्तो हुनुहुन्छ, रातभर खटिएर काम गर्छु भन्नुहुन्छ। यति धेरै काम गर्छु भन्दा मलाई माया लाग्छ’, यादवले भने, ‘पार्टीले अन्याय गरेर उहाँलाई अनावश्यक भारी बोकाउनु भएन। पार्टीले बुझेर भारी बिसाउन सहयोग गर्नुपर्‍यो।’