पोखरा महानगरको आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । बुधबार महानगर प्रमुख मानबहादुर जिसीले नीति कार्यक्रम पेश गरेका थिए ।
बुधबारै उपप्रमुख मञ्जु गुरुङले सातौँ नगरसभामा ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट पेश गरेकी थिइन् । बजेटमाथि भएको छलफलमा १९ नगर सभासदले सुझाव राखेको प्रवक्ता धनबहादुर नेपालीले बताए ।
नेकपा सचेतक सोभामोहन पौडेल र नेपाली कांग्रेसका सचेतक रामराज लामिछाने एवं लेखा समिति संयोजक पूर्णबहादुर गुरुङले नगरसभामा धारणा राखेका थिए ।
महागरको शहरी योजना आयोगले प्रकाशन गरेको पोखरा २१०० तथा आवधिक रणनीतिक कार्ययोजना ०७७–०८२ प्रमुख जिसीले विमोचन गरेका छन् । पुस्तकमा हालसम्म महानगरका लागि बनाइएका र लागू गरिएका विभिन्न योजनाका मुख्य पक्ष र उपलब्धिहरुको समीक्षासमेत समेटिएको छ ।




