गाउँ के भएछ : शिवप्रसाद पाण्डे

सरल जीवन- बाच्न गाह्रो भएछ ,
हिलो गाउँ – साह्रो भएछ ।
मलिलो बारि – उत्तिसको बन भएछ,
एक भएको समाज – टाढा टाढा जन भएछ ।
पाटि र दुधे खरि – गनाउने मार्कर भएछ,
ठूलो त्यागको फल- ढाड सेकाउने सरकार भएछ ।
क्रियापुत्रि भेटने काम- फेसबुकमा लेखेहुने रीप भएछ,
पाँच इन्द्रिय चलाएर हुने- स्मार्ट वोडमा सीप भएछ ।
अैचोपैचो गरि पाउने दुई डाडु दूध- पानी थपि सुसे मानो शय भएछ,
ढोका खुलै राखे हुने- भोटे ताल्चा फोडने चोरको भय भएछ ।
पिडिमा बसि गर्ने भलसकुसरी- च्यानल गेटको चापि भएछ,
तीन बालि हुने खेत- एघारौ दिनको क्रिया गर्ने स्थल जस्तै नापि भएछ ।
धेरै घरको रखवारि गर्ने कुकुर – जोडिएको घरकोलाई देख्दा भुक्ने भएछ,
चौबिसै घण्टा आउने पानी- हावाले मिटर घुमाइ सुक्ने भएछ ।
जाडो गर्मि मिलाउने खरको छानो- टिनले पोल्ने भएछ ,
धोति भेरि खाना पकाउने घर- कुन खाले सिसि खाने भनि दराज खोल्ने भएछ ।
चार वर्षसम्म टन्न आमाको दूध खाने – छ महिना नहुदै बाबुआमा भएको टुहुरा बनी हजुर आमाको लाम्टो चुस्ने भएछ,
स्कुल हिडेको ठूले बाबू – धुवा उडाउदै खोल्साको छेउ सुत्ने भएछ ।
ताजा तरकारी फलाउने धुब्रे- सुइ दिई काक्रो सुन्नाउने भएछ,
कहिल्यै औषधि नखाने – दशथरि चक्कि सुत्नेमाथि पलाष्टिकमा झुण्डाउने भएछ ।
बरपिपल सितल चौपारि – फोहर थुपार्ने ठाँउ भएछ,
सानो घर भएपनि -दस हजार घर कर तिर्ने साहु भएछ ।
गोरेटो सानो बाटो- तेह्र फिटे ज्यान खाने रोड भएछ,
शान्त सुन्दर घर आगन- जसरी पनि घर जिप लाने होड भएछ ।
छोराछोरी पढाउन बीस घण्टा जोतिएको समय- दस बज्न दस मिनेटलाई क्याम्पस तहको हाजिरजवाफको सवाल भएछ,
बज्यैको औषधि किन्ने वृद्ध भत्ता – बिनाकाम डुल्ने भटभटेको तेल किन्ने नातिको जवाफ भएछ ।
अविकसित गाउँ – विकसित भएछ ।
टाढा घर मन नजिक- घर नजिक मन टाढा भएछ ।
समाज सानो सामाजिक ठूलो- घरहरु धेरै सामाजिक सानो भएछ ।
किनभने,
गाउँ – नगर भएछ ।