एमसिसीविरुद्ध देशव्यापी आन्दोलन घोषणा

मिलेनियम च्यालेन्ज कर्परिसन अर्थात् एमसीसीका विरुद्ध देशव्यापी आन्दोलन घोषणा भएको छ । विभिन्न राजनीतिक दलदेखि संघ, संस्था र मोर्चाहरुले एमसिसी विरुद्ध गर्दै आएका कार्यक्रम र गर्ने कार्यक्रमको संयोजन गर्न सोनाम साथीको नेतृत्वमा बनेको एमसिसी खारेज संयुक्त संघर्ष समितिले आइतबारदेशब्यापी कार्यक्रम घोषणा गरेको हो ।

संयोजक सोनाम साथीले आइतबारदेखि प्रत्येक दिन बेलुकी ८ बजेदेखि एक हप्तासम्म १० मिनेट ब्ल्यक आउट अर्थात बत्ति निभाइनेछ । असार ८ गते सोमबार न्यूरोडमा अपरान्ह ४ः३० देखि ५ः३० सम्म विभिन्न संघ, संस्थाका ब्यानरसहितको प्रदर्शन गरिनेछ ।

९ गते देशब्यापी एकै समयमा करिब १ लाख जनता सडकमा आउने संयोजक साथीले बताए । सो दिन नगरपालिका, गाउँपालिकामा आआफ्नो स्थानमा र काठमाण्डौको हकमा माइतीघरमण्डलामा प्रदर्शन गरिनेछ ।

१२ गते नागरिक आवाजको आयोजनमा वसन्तपुरमा हुने सभा सफल पार्न उनले आग्रह गरे । सोही दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यहरुलाई एमसीसी खारेज गर्नका लागि एसएमएस पठाउने, फोन गर्ने र मेल पठाउने अभियान सुरु हुनेछ ।

संयोजक साथीले एमसिसी खारजी संयुक्त संघर्ष समितिले होसियारी पत्रसमेत जारी गर्ने जानकारी दिए ।