नेपाली युवालाई भाडावाल लडाकु नबन्न विप्लवको अपिल

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भारतीय गोरखा सेनामा कार्यरत नेपाली युवालाई चीनसँगको युद्धमा नलगाउन माग गर्दै विदेशीको भाडावाल लडाकु नबन्न नेपालीलाई आह्वान गरेका छन् ।

शनिबार विज्ञप्ति निकालेर उनले भारत–चीन सीमामा तनाव बढेका बेला बिदामा रहेका गोरखा सैनिकहरुलाई फिर्ता बोलाउनुले त्यहाँ उनीहरुलाई परिचालन गर्ने सम्भावना देखिएको औंल्याएका छन् । विप्लवले भनेका छन्, ‘दुई समान छिमेकीका बीचमा भएको नेपाल र नेपाली जनताका लागि यो अति संवेदनशील र खतरनाक छ ।’

पैसा र चाकडीका लागि युवालाई अरु देशमा पठाउने चलन यो सदीमा अस्वीकार्य, अपाच्य र लज्जाजनक भएको उल्लेख गर्दै विज्ञप्तिमा सोही कारणले गोरखा भर्ती खारेजीको माग उठाउँदै आएको स्मरण गरिएको छ । विप्लवले राज्यलाई युवाका लागि देशमै रोजगारीका अवसर सिर्जना गर्न र युवालाई स्वदेशमै काम गर्नसमेत आग्रह गरेका छन् ।