सैन्य गठबन्धनसँग जोडिने विदेशी सहयोग अस्वीकार्य : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि सैन्य गठबन्धनसँग जोडिने विदेशी सहयोग नलिने बताएका छन्। प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपाललाई अस्वीकार्य हुने बताएका हुन्।

नेकपाभित्र एमसीसीलाई लिएर चर्को विवाद भइरहेका बेला अध्यक्ष प्रचण्डले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को संयुक्त भर्चुअल कार्यशालालाई शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्दै यस्तो बताएका हुन्। नेपाल विकासको चरणमा रहेकाले ठूलो मात्रामा सहयोग चाहिए पनि सैन्य गठबन्धनसँग जोडिन नसकिने बताए।

प्रचण्डले कुनै पनि छिमेकीसँग द्वन्द्व नचाहेको बताए। पछिल्लो समय भारतसँग देखिएको विवादबारेमा बोल्दै उनले आफ्ना छिमेकीहरुसँगको विवाद समाधानका लागि नेपाल वार्ताकै पक्षमा रहेको बताए। उनले नेपाल र चीनबीच कुनै पनि खालको समस्या नरहेको बताएका थिए। उनले नेपाल सदैव एक चीन नीतिमा प्रतिवद्ध रहेको बताए। चीनसँग भूगोल, जनसंख्या र विकासको तुलना गर्न नसकिए पनि दुई मित्र राष्ट्रबीचको सम्बन्धमा कुनै पनि किसिमको समस्या नरहेको प्रचण्डले बताए।