सरकारको नियुक्तिविरुद्ध नेकपाकै विद्यार्थीले लगाए ताला

सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमं)को डिनमा डा दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको यो निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै अनेरास्‍ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा ताला लगाएको हो । योग्यता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको दाबी गर्दै आफूहरुले तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले बताए ।

विद्यार्थीको यो कदममा प्राध्यापक तथा कर्मचारीका संगठनहरुको पनि साथ देखिएको छ । डा शाह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकसमेत हुन् । यो निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने अध्यक्ष पंगेनीले चेतावनी दिए ।