नेकपाकै नेताले मागे मन्त्रीहरुको सामूहिक राजीनामा

राष्ट्रियसभा सदस्य राम नारायण विडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।

विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा भाग लिँदै विडारीले असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने विचार राखे । उनले भने, ‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस् भनेर असारमा बजेट पास हुन्छ । अनी साउनबाट फटाफट काम गरे हुने नि । अनि मन्त्रीलाई काम गर्न केले छेक्यो ?’

सरकारले यहि पटकबाट साउनबाटै काम गर्न थाल्नुपर्ने नत्र मन्त्रीहरुले सामूहिक राजनीनामा दिए हुने उनको भनाइ छ । काम गर्न नसके पदमा बस्नुको औचित्य नहुने औल्याउँदै उनले भने, ‘किन तलब खाएर बसेको ? मन्त्रीले यो कुरा विचार गरुन् ।’

राष्ट्रियसभाबाट जति सुझाव दिए पनि बजेटमा कुनै परिवर्तन नहुने गरेको भन्दै उनले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने जनाए ।

उनले भने, ‘यत्रो छलफल ग¥यो यत्रा दिनको तलब भत्ता ग्वाम ग्वाम खायौँ । अनि बजेट चाँही सरकारले जे ल्यायो त्यही एक रुपैयाँ नि परिवर्तन हुँदैन । यस्तो पनि कहिँ हुन्छ ? यो छलफल नाटक किन गरेको ?’

सरकारले सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको उनले आरोप लगाए । उनले भने, ‘सांसदहरुले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर ४ करोड, अनि बाटोघाटो भनेर १०, ८ करोड हाल्दिने काम मन्त्रीले ग¥यो । यसबाट देश विकास हुँदैन । त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन ।’’