पर्वत पहिरो : ८ जनाको शव फेला, १ बालिका अझै बेपत्ता

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ, काफलचौरमा आएको पहिरोमा परी ८ जनाले ज्यान गुमाएका छन् भने एक बालिका अझै बेपत्ता छिन् ।

शनिबार राति ९ बजे आएको पहिरोमा परी तुलबहादुर थापाको परिवारका ६ जना र कमला विकको परिवारका ३ जना पुरिएका थिए । त्यहाँ शनिबार साँझदेखि पानी परेको थियो ।

घटनाबारे जानकारी पाएपछि तत्काल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय उद्धारमा खटिएका थिए । टोलीले बेपत्ता ९ जनामध्ये ८ जनाको शव आइतबार फेला पारेको छ । घटनामा मृत्यु हुनेहरुमा ५२ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षकी मीनकुमारी, नातिनी वर्ष ८ की बिबिसा, छोरी ३० वर्षकी दीपा, २६ वर्षकी कमला विक, ८ वर्षकी प्रमिसा विक, १७ वर्षका विवेक थापा र १४ वर्षका सम्राट थापा छन् ।

१३ वर्षकी जेनिसा विक भने हालसम्म वेपत्ता छिन् । उनको खोजी भइरहेको र सोमबार पनि खोजी गरिने प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।