शनिबार संविधान संशोधनपछि प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार देशको हितमा एक कदम अघि बढेको जनाएका छन् । उनले आइतबार विज्ञप्ति निकालेर यस्तो विचार राखेका हुन् ।
विप्लवले कुनै साम्राज्यवादीको थिचिमिचो नसहने भन्दै उल्लेख गरेका छन्, ‘हाम्रो पार्टी देशमाथि कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रबद्धता स्पष्ट गर्न चाहन्छ ।’
उनले जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार अतिक्रमित भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको दाबी गरेका छन् ।
विप्लवले नक्सा जारी गरेर मात्रै नहुने बताउँदै उक्त भूभागहरु नेपालको प्रत्यक्ष स्वामित्वमा लिनका लागि अगाडि बढ्न आवश्यक भएको औंल्याएका छन् । ‘हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ’, उनले भनेका छन् ।

उनले आम नागरिकलाई पनि सरकारको मुख नताकी देशको सार्वभौमिकता र स्वाधीनताको पक्षमा हरदम जागरुक रहन आग्रह गरेका छन् ।




