२ सय ७५ सांसदमा क कसले गरेनन् संविधान संशोधनमा मतदान ?

प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मति पारित भयो । संसदमा २ सय ५८ सांसद उपस्थित थिए ।

समाजवादीको सांसद सरिता गिरी आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएपछि बाहिरिएकी थिइन् । मतदानका क्रममा ११ जना सांसद भने अनुपस्थित रहेका थिए । मतदानमा सभामुख सहभागी हुँदैनन् भने ४ जना सांसद निलम्बित छन् ।

मतदान नगर्ने सांसदहरुमा गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, अमृतादेवी अग्रहरी, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिता गिरी र ज्ञानकुमारी छन्त्याल छन् ।

शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

अनुपस्थित सांसदमध्येमा सत्तारुढ नेकपाका हरिबोल गजुरेल, शिवकुमार मण्डल, धनबहादुर बुढा र गोपालबहादुर बम छन् । कांग्रेसका सांसदहरू नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल र ‍राजपाका प्रमोद साह, अमृतादेवी अग्रहरी र दुलारीदेवी खत्वेनी अनुपस्थित रहे । समाजवादीका सांसद सूर्यनारायण यादव पनि उपस्थित भएनन् ।