तनहुँको भानु नगरपालिकाको केन्द्र फेस्रेटारबाट भन्सार सार्न सिफारिस

गण्डकी सरकारले तनहुँको भानु नगरपालिकाको केन्द्र परिवर्तन गर्न संघमा सिफारिस गरेको छ ।

१३ वडा रहेको भानुको केन्द्र वडा नं. २, फोस्रेटार रहेकोमा वडा नं. १ भन्सारमा सार्न आइतबारको गण्डकी प्रदेशको मन्त्री परिषद् बैठकले सिफारिस गर्ने निर्णय गरेको हो । भानुका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पाण्डेले फोस्रोटार अपायक भएकाले भन्सारमा केन्द्र सार्ने गाउँपालिकाले निर्णय गरेको जानकारी दिए । उनले भने, ‘फोस्रेटार भौगोलिक रुपमा अपायक, गाडीको असुविधा, आफ्नै संरचना नभएको र जग्गाको पनि अभाव भएकाले भन्सारमा केन्द्र सार्ने नगरसभाबाट निर्णय भएको थियो ।’

मन्त्रीपरिषद् बैठकले मुग्लिनमा नयाँ बन्ने प्रहरी चौकीको पूर्वाधारका लागि १४ लाख ९१ हजार विनियोजन गरेको प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयहरुलाई कोभिड १९ रोकथाम, नियन्त्रणका खर्च गर्न ८० लाख विनियोजन गरेको बस्नेतले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग उपचार केन्द्र गण्डकीलाई प्रदेश मातहतमा ल्याउने र नाम परिवर्तन गर्ने निर्णय पनि भएको छ । केन्द्रको नाम गण्डकी क्षयरोग केन्द्र पोखरा राखिएको बस्नेतले जानकारी दिए ।