file pix
नेकपा प्रदेशसभा सदस्य एवं कास्की जिल्ला अध्यक्ष कृष्ण थापाले आफूले कहिल्यै जातीय विभेद नगरेको दाबी गर्दै कसैले प्रमाण ल्याए राजनीति नै छाडिदिने उल्लेख गरेका छन् ।
आइतबारको गण्डकी प्रदेशसभामा थापाले भने, ‘कसैले कृष्ण थापाले विभेद गरेको प्रमाण ल्याउछ भने सभासद् त के राजनीतिबाटै सन्यास लिन्छु ।’ उनले कुनै पनि राज्य वा समाजले बनाएका भवनमा सबैको बराबरी अधिकार हुन्छ भनी आफूले भनेको उनले उल्लेख गरे ।
बाटुलेचौरमा करिब एक महिनाअघि दलितलाई किरियापुत्री भवन नदिएको भन्ने विषयमा थापाले आफ्नो भनाइ राखेका हुन् । उनले भने, ‘म त्यही टोलमा जन्मिएको हुँ । त्यहाँका गन्धर्वलाई एक घरलाई म मेयर हुँदा एक रोजगार र हरेक परिवारलाई १ रोपनी जग्गा उपलब्ध गराएको थिएँ ।’
उनले अदालतमा विचाराधीन विषयमा आफूले बोल्न नचाहे पनि सांसदमा आवाज उठेपछि जवाफ दिन बाध्य भएको उनको भनाइ छ । उनले गण्डकी प्रदेशमा सबैभन्दा बढी मतान्तरले जित्ने अवसर पाएको उल्लेख गर्दै सबै विभेद अन्त्य गर्न लाग्ने प्रतिवद्धता गरे । उनले भने, ‘सुनियोजित रुपमा राजनीतिक चरित्र हत्या गर्ने प्रयत्न गरिएको छ । यसलाई चिर्दै सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्न अघि बढ्ने प्रतिवद्धता गर्दछु ।’






