गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेत ४ जनाविरुद्ध बिगो २६ लाख १६ हजार १० रुपैयाँ अनियमितता गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ । गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौताविपरीत तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेतको मिलेमतोमा आफूलाई फाईदा र सम्झौताको शर्तविपरीत भन्सार छुट गराई सार्वजनिक संस्थान गोरखापत्र संस्थानलाई हानि नोक्सानी गराई २६ लाख १६ हजार १० रुपैयाँ प्रिन्टसेल इमेजिङलाई फाइदा हुने गरी भन्सार छुट सिफारिस र भुक्तानी दिने लिने गरेको अख्तियारले जनाएको छ ।
संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायले प्रिन्टसेल इमेजिङलाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिस अनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रा।लि। कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी भएको अख्तियारको दाबी छ ।
सोही अभियोगमा अख्तियारले बसन्त प्रकाश उपाध्याय, संस्थानका तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा।लि।का संचालक दीपककुमार भंसाली विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।






