संसारलाई नै त्राहि त्राहि बनाएको कोरोना संक्रमणबाट सोमबार साँझसम्म २ लाख ८५ हजारको ज्यान गइसकेको छ । नेपालमा १ सय २१ जनामा संक्रमण देखिएकोमा ३३ जना निको भएर घर फर्किएका छन् ।
लकडाउनका कारण अलपत्र परेकाहरु पनि घर, व्यवसाय भएका ठाउँमा फर्किदै छन् । यही क्रममा आइतबार राति प्रदेश १ को मोरङबाट २ निजी गाडी पोखरा आइपुगे । गाडीमा लेकसाइडमा होटल सञ्चालन गर्ने ४ परिवारका सदस्य थिए । उनीहरु लेकसाइडको स्ट्रेट नम्बर ९ को एक होटलमा बसेका छन् । आइतबार राति पोखरा आइपुगेका भरत थापाले आफूहरु २ निजी गाडीमा ४ परिवार पोखरा आएको नेपालदुतलाई बताए ।
मोरङबाट इपास बनाएर पोखरा आएको जानकारी दिँदै उनले आफूहरु पूर्ण सुरक्षित तवरले पोखरा आएको उल्लेख गरे । उनले भने, ‘म मोरङ पथरीबाट आएको हुँ । उहाँ पनि हामी सेफ भएरै बसेका थियौं । माहामारी हो, मुख्य ज्यान बचाउने कुरा हो । मर्ने कसैलाई रहर हुँदैन नि हजुर ।’
आफ्नै लगानीको होटल भएकाले पोखरा फर्किएको जनाउँदै उनले झापाबाट पोखरामा मानिसहरु आएको र जनजीवन त्रसित भनी केही सञ्चारमाध्यममा समाचार आएको भन्दै आपत्ति जनाए । उनले भने, ‘हामी नेपालबाट नेपालमै आएका हौं । आफ्ना नागरिक विदेशबाट त ल्याउनुपर्न भने हामीलाई यस्तो किन भनिँदै छ । हामीमध्ये २ जनाको रगत जाँच भएको छ । अरुको पनि जाँच गराइदिनुस् । मर्ने कसैलाई रहर छैन ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले मोरङबाट आएकाहरुलाई प्रहरीले सम्पर्क गरिसकेको र होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको जनाए । उनले भने, ‘होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौं । टेस्ट गर्ने किट एकदमै कम छ । आधिकारिक पास लिएर आएका सवारी छाड्नुपर्छ ।’ उनले भारतीबाट सबै सामान नेपाल आइरहेको उल्लेख गर्दै रित पुर्याएर आएकाहरुलाई रोक्न नमिल्ने उल्लेख गरे ।






