सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सीमाबारे भारतसँग तत्काल वार्ता गर्नुपर्ने औंल्याएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालको हो भन्ने कुरामा कुनै विवाद नरहेको उल्लेख गरे ।
उनले भारतले नेपाली भूमि मिचेर बाटो बनाएको विषयमा तत्काल वार्ता हुनुपर्नेमा जोड दिए । उनले भने, ‘उच्च मनोबलका साथ भारत र चीनसँग पनि कुरा गर्नुपर्छ।’ नेपालमा भारत विरोधी भावना बढ्नुमा भारत नै दोषी रहेको उनको भनाइ छ । नेपालले भने, ‘अतिक्रमणले नेपालको सार्वभौम सत्तामा आक्रमण गरेको छ।’ महाकाली नदीपूर्वको क्षेत्र पटक–पटक जारी गरिएका नक्सा र भारतले समेत पहिला नेपालको भएको स्वीकार गरेकालेले त्यो नेपाली भूमि नै भएको प्रष्ट रहेको उनले बताए ।
उनले कोरोनाको बाहानमा वार्ता टाल्न नहुनेमा जोड दिँदै तत्काल नक्सा सार्वजनिक गर्न माग गरेका छन् । उनले भने, ‘भारतसँग सधैँ झगडा गर्न सकिँदैन, तारबार लगाउने हो कि के गर्ने हो हुनुपर्यो। कहिले सीमाबाट आतंकारी छिर्यो भनेको छ, कहिले के भनेको छ। यसलाई रोक्नुपर्छ।’ सीमा नियमनका लागि सुरक्षाकर्मी राखिनु पर्ने उनले बताएका छन् ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको उद्घाटन गरेपछि त्यसको विरोध भएको छ ।






