जिल्ला अदालत, कास्कीका स्रेस्तेदार लोकनाथ पराजुलीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
पराजुलीले अदालतमा विचाराधीन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग ३० हजार रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा पराजुलीले संगठित अपराध, कर्तव्य ज्यान मुद्दामा दशी प्रमाणको रुपमा जिल्ला अदालत, कास्कीमा पेश भएको सेवाग्राहीको ग १ च २३६३ नं। को कार अदालतको आदेश बमोजिम छुटिसकेको अवस्थामा समेत उनले धरौटी निर्धारण गरी गाडी छोडिदिने रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उनको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिमको कसुर अपराध भएकाले पराजुलीलाई बिगो ३० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय ख बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।






