सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदमले नेपालको सार्वभौमिकताको अवमूल्यन भएको ठहर गरेको छ।
शनिबार साँझ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो जनाएका हुन् । उनीहरुले भारतको सो कदमप्रति नेकपाको गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।

नेकपाले कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बेला भारतले यस्तो कदम चालेको भन्दै दुःख व्यक्त गरेको छ।
सुगौली सन्धि अनुसार महाकाली नदीले स्पस्ट रुपमा सीमा छुट्याउने भन्दै नेकपाले लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग नेपालकै भएको नेकपाले उल्लेख गरेको छ । लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भारत र चीनबीच भएको सहमतिको सन् २०१५ मै नेपाल सरकारले विरोध गरेको पनि विज्ञप्तिमा स्मरण गराइएको छ।
सरकारले सीमासम्बन्धी वार्ताका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठको प्रस्ताव गरेकोप्रति सेचत रहेको भन्दै नेकपाले कूटनीतिक माध्यमबाट समस्या हल गर्न सरकारले चाल्ने कदममा समर्थन रहेको जनाएको छ। नेकपाले सडक निर्माण तत्काल रोक्न आग्रह गर्दै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।






