स्थानीयको दबाब र सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि रातारात भत्काइएको डिभाइजर रातारात बनाइएको छ ।
पोखरा ६ को जरेबर र नारेश्वरबीचको सडकको डिभाइडर बिहीबार राति अचानक भत्काइएको छ । सुलभ बचत तथा ऋण सहकारीले चलाएको सुलभ डिपार्टमेन्ट स्टोर्सले आफ्नो अगाडिको डिभाइडर भत्काएको थियो।
बिहीबार रातिबाट सुरु गरी शुक्रबार बिहानसम्म भत्काइएको करिब ३० फिटको डिभाइडर शनिबार बनाइएको हो । पोखरा ६ का अध्यक्ष जगत पहारीले वडाले भत्काउन मौखिक अनुमति दिएको स्वीकारेका थिए । उनले विरोध आएपछि भत्काउन बन्द गरिएको र फेरि बनाइने प्रतिवद्धता जनाएका थिए ।
पोखरा ६ का वडा सदस्य हरि पहारीले डिभाइडर निर्माणको खर्च सुलभले नै व्यहोरेको जानकारी दिए । आइतबार नै डिभाइडर प्लास्टर गरी काम सकिने उनले बताए ।
जिरोकिमीदेखि हल्लनचोकको सडकबीचमा दुबो, फूलहरु रोपेर सौन्दर्यकरण र सुरक्षाका लागि डिभाइडर बनाइएको थियो । डिभाइडर करिब १ महिनाअघि प्लास्टर गरिएको थियो ।






