अध्यादेशको असर : जुटे राजपा र समाजवादी

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता गर्नै समझदारी भएको छ । सरकारले पार्टी विभाजनबारे लचिलो अध्यादेश ल्याएपछि तरंगित भएका दुवै पार्टीले बुधबार एकता घोषणा गरेका हुन् ।

दुवै पार्टीका शीर्ष नेताहरुको राति ११ बजेसम्म चलेको छलफलले एकीकरण टुंगो लगाएको हो । एकताको सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख छ। एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बिचमा तारा हुने छ। चुनाव चिन्ह भने राजपा नेपालले प्रयोग गर्दै आएको छातामा सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा र समाजवादीलाई संकेत गर्दै अध्यादेश ल्याउनुपरेको बताएका थिए ।

प्रतिनिधिसभामा राजपा र समाजवादी दुवैको समान १७ सिट छ। राष्ट्रियसभामा राजपाका २ र समाजवादीका १ सांसद छन् । राजपाका अनिल झा लगायतका केही नेता र समाजवादीका रेणु यादव, मोहम्मद इस्तियाक राइन लगायतका नेताहरु भने एकीकृत पार्टीमा समेटिने, नसमेटिने टुंगो छैन ।