नेकपामा तरंग, सचिवालय बैठक बोलाइयो

सत्तारुढ नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्‌बाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गराएसँगै नेकपामा तरंग आएको छ । मन्त्रिपरिषद् बैठकपछि पूर्वमाओवादीका मन्त्रीहरुले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

केही मन्त्रीहरुको असहमतिका बाबजुद ओलीले आवश्यक भएको भन्दै प्रस्ताव पारित गराएको सार्वजनिक भएको छ । उनले नेकपा फुटाउन वा तर्साउन के प्रयोजनका लागि ऐन संयोधन गर्न लागेका हुन् भन्ने प्रष्ट भइसकेको छैन ।

पार्टीभित्र अल्पमतमा पर्दै आएका ओलीलाई आफूखुसी सरकार सञ्चालन गरेको आरोप नेकपाका नेताहरुले नै लगाउने गरेका छन् । कोरोना कहरका बेला आकस्मिक भएको दल त्यागसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णयले नेकपाभित्रको विवाद उत्कर्षमा रहेको प्रमाणित गरेको छ ।

बैठकमा अध्यादेश, कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि भएको प्रयास लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।