नेपालको दोस्रो कोराना संक्रमित काठमाडौँकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ निको भएर शनिबार घर फर्किएकी छन्। काठमाडौँको मैतीदेवीकी श्रेष्ठ शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर घर फर्केकी हुन् ।
उनका सबै रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएकी हुन् । प्रसिद्धी चैत ४ गते कतार हुँदै नेपाली आएकी थिइन् । १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनी त्यही दिन अस्पताल भर्ना भएकी थिइन् ।
प्रसिद्धी पूर्ण रुपमा स्वस्थ्य भएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । प्रसिद्धीले कोरोना संक्रमणबाट नतर्सिन र बिरामी भएकालाई परिवार र समग्र देशले नै साथ, हौसला दिनुपर्ने सुझाव दिइन् । उनले भनिन्, ‘म स्वस्थ भएँ, कोही बिरामीलाई प्लाज्मा चाहिए, दिन तयार छु ।’
यसअघि पहिलो संक्रमित चीनको वुहानबाट फर्केका युवा निको भएर घर फर्किसकेका छन् भने बागलुङकी ६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ आएको छ।
नेपालमा अहिलेसम्म ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।




