विपन्नलाई घरमै राहत, खानै नपाउने अवस्था आए वडा वडामै खाना

लकडाउनको समयमा खाद्यान्नको अभावमा पोखरा महानगरपालिका भित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले क्विक रेस्पोन्स टोली बनाएर राहत वितरण सुरु गरेको छ ।

गत चैत १९ गतेको नगर कार्यपालिकाले बनाएको सेवाग्राही छनोट मापदण्ड भित्र परेका सेवाग्राहीले तत्काल खाद्यान्नको अभाव भएमा र यसअघि राहत नपाएकाहरुले सेवा लिन सक्नेछन् । पोखरा महानगरपालिकाको पैसा नलाग्ने हटलाइन नम्बर ११८१ नम्बर फोन गरेर राहतका लागि नाम टिपाउन सकिने महानगरपालिकाले बताएको छ ।

राहत नपाएको गुनासोको बारेमा छानबिन गरी राहत उपलब्ध गराउन नै पर्ने अवस्था भएकाहरुलाई घरघर र बसेकै ठाउँमा पुगेर महानगरले राहत वितरण गरेको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए । महानगरले तत्कालका लागि गर्जो टार्न आधा बोरा चामल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, एक केजी चना वितरण गरेको छ ।

बिहीबार र शुक्रबार महानगरले खाद्यान्न अभाव भएका दैनिक ज्यालामजदुरी गरेर खाने १० घर परिवारलाई राहत वितरण गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।
उनका अनुसार महानगरले पूर्ण र आशिक प्याकेज गरी १९ हजार २ सय २० घर परिवारलाई राहत वितरण गरेपछि पनि राहत नपाएको गुनासो आएपछि घर घर पुगेर राहत वितरण गर्न सुरु गरेको हो ।

महानगरले घरघर र बसेकै ठाउँमा पुगेर राहत वितरण गर्दा पनि कसैले खान नपाएको भए आवश्यकताका आधारमा वडा वडामा पनि खाना खुवाउने व्यवस्था गरिएको प्रमुख जिसीले बताए ।