अब राजमार्गमा हिड्नेलाई पक्राउ गरी मुद्दा चलाइने

सहरबाट हिँडेरै गाउँ फर्किन लागेका सर्वसाधारणलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने भएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गर्न गृह प्रशासनलाई निर्देशन दिएको छ ।

समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले ठूलो संख्यामा मान्छे हिँडेरै विभिन्न जिल्लामा गइरहेको पाइएकाले मुद्दा चलाउन नै निर्देशन भएको पुष्टि गरे । पछिल्ला केही दिन संक्रमणको दर फैलिएसँगै जोखिम बढेको भन्दै लकडाउनलाई थप कडाइ गर्न लागिएको हो ।

काम बन्द भएसँगै खानै समस्या भएकाले जोखिम र कष्ट व्यहोरेरै गाउँ जान बाध्य हुनुपरेको उनीहरूको गुनासो छ ।