लकडाउन लम्बिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड-१९ लाई फैलिन नदिन जारी लकडाउन तत्काल नखुल्ने बताएका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन्।

बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका छन्। सरकारले अहिले भारतीय सीमामा प्रत्येक किलोमिटरको दरमा सशस्त्र प्रहरी खटाएर गस्ती गरिरहेको छ। ’लकडाउन छिट्टै अन्त्य हुँदैन। सरकारले सीमामा अझ कडाइ गर्छ। भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैन’, उनले मूख्यमन्त्रीहरुसँगको संवादमा भने, ’संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको छ। भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्नु होला, यो कुरामा सचेत रहनुस्।’

मूख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत् प्रधानमन्त्री ओलीले यसबीचका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। प्रधानमन्त्रीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको पनि स्पष्ट पारे। यस कार्यमा सरकार प्रभावकारी र सफल रूपमा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गर्नुभएको सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्रीले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताए। ओलीले लकडाउनमा प्रशासनिक लापरबाही हुनै नहुनेमा जोड दिए। ’मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्छ’, उनले भने, ’त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गर्दैछौं।’

उनले जनतालाई दुस्ख दिन नभइ जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन आग्रह गरे। ओलीले सरसफाईमा ध्यान दिन, मास्क र चश्मा प्रयोग गर्न तथा मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गरेका छन्।