सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस कोभिड–१९ को र्यापिड टेष्ट गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमितहरु देखिएको कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरेको हो ।
बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
बैठकमा लकडाउन बढाउने विषयमा कुनै निर्णय नभएको खतिवडाले बताए । सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ । शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन्। संक्रमितको संख्या बढेसँगै लकडाउनको अवधि बढाउने सरकारको तयारी छ ।
बैठकले स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन बीमाको व्यवस्थादेखि प्रोत्साहन भत्ता दिने तथा स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने, स्वास्थ्यकर्मीलाई सुरक्षाको व्यवस्था गर्ने निर्णय पनि गरेको डा. खतिवडाले जानकारी दिए ।






