विदेशबाट आएका सबैको कोरोना जाँच अनिवार्य

- जुनसुकै बाहानामा अब बिरामी फर्काए कारवाही

विदेशबाट आएर क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा आफूखुसी बस्दै आएका व्यक्तिहरूलाई आवश्यकता र प्राथमिकताका आधारमा अनिवार्य रूपमा स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । शनिबार भएको गण्डकी सरकारको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य संघ, संस्था, जिल्ला प्रशासन कार्यालय तथा सबै स्थानीय तहहरुलाई यस्तो निर्देशन दिएको हो ।

आकस्मिक सेवाका लागि अस्पताल पुगेका बिरामीलाई चिकित्सक र अस्पतालले फिर्ता पठाएका घटनाहरु सार्वजनिक भए पनि गण्डकी प्रदेश सरकारले नयाँ कदम चाल्ने भएको छ । सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाले आफूकहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्यरूपमा उपचारको व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको हो ।

कुनै पनि वाहनामा उपचार नगरी बिरामी फर्काउने जस्ता गैरयजम्मेवार कार्य गरेमा कारवाही गरिने भएको छ । उपचार नगरेमा त्यस्ता अस्पताल वा संस्थाको प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई संक्रमण रोग ऐन, २०२० लगायत प्रचलित ऐन कानुन अन्तर्गत आवश्यक कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

बैठकले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग सम्बद्ध निकायका कर्मचारीका सुत्केरी र किरिया विदाबाहेक अन्य विदा स्वीकृत नगर्ने र स्वीकृत भईसकेका बिदासमेत रद्द गरी कर्मचारीलाई तयारी हालतमा राख्न निर्देशन दिएको छ । अर्को आदेश नभएसम्मका लागि स्वास्थ्य सेवासँग आबद्ध कर्मचारीको राजीनामा समेत स्वीकृत नगरिने भएको छ ।

कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्बन्धमा आवश्यक पर्ने सामग्री, औषधी तथा उपकरण प्रतिस्पर्धाको आधारमा तत्काल खरिद गरिने भएको छ । अस्पताल तथा संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासकका सुत्केरी र किरिया बिदा बाहेकका अन्य बिदा स्वीकृत नगर्न, स्वीकृत भई सकेका बिदा समेत रद्द गरी कर्मचारीलाई तयारी हालतमा राख्न र राजीनामा समेत स्वीकृत नगर्न संक्रामक रोग ऐन, २०२०’ को अधिकार प्रयोग गरी स्थानीय प्रशासनले सम्बन्धित अस्पताल प्रशासन तथा सञ्चालकलाई निर्देशन दिने निर्णय भएको छ ।

प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा सबै कार्यालयका प्रमुखलाई अनिवार्यरूपमा मन्त्रालय तथा कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । अन्य कर्मचारीलाई जुनसुकै बखत कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउन प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय तथा कार्यालयका प्रमुखलाई निर्देशन दिने निर्णय भएको छ । कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा असहयोग गर्ने, बाधा व्यावधान पुर्याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२०’ बमोजिम तत्काल कारवाही गरिने भएको छ ।