कार्यकर्ता र जनसेना कोरोनाविरुद्ध मैदानमा छन् : विप्लव

विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टी कोरोना नियन्त्रणका लागि सबै शक्तिसँग सहकार्य गर्न तयार गरेका जनाएका छन् । शनिबार विज्ञप्ति निकालेर उनले आफ्ना कार्यकर्ता र जनसेना कोरोना नियन्त्रण अभियानका लागि क्रियाशील रहेको जनाएका छन् ।
उनलेकोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंकासमेत वयक्र गरेका छन् । निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले त्यस्ता अस्पताललाई कारवाही गर्न उनले मा गरेका छन् ।

प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि सरकारले आवश्यक स्वास्थ्य उपकरण आयात र उत्पादनमा समयमै पहल नगरेको भन्दै विप्लवले संक्रमणसँगै आवश्यक औजार तथा उपकरण खरिदमा पनि भ्रष्टाचार गर्न खोजिएको बताएका छन् ।

विदेशमा रहेका नागरिकलाई हवाइजहाजबाट स्वदेश ल्याउँदा समेत टिकटबाट आउने रकमा कमिसनखोरी गरिएको विप्लवको दावी छ । उनले महामारीविरुद्धको संघर्षमा केपी ओली नेतृत्वको सरकार असफल, भ्रष्ट र बदनाम भइसकेको जिकिरसमेत गरेका छन् ।

उनले सरकारले परीक्षणको सुविधा गाउँगाउँसम्म पुर्याउनुपर्ने, कोरोनाबाट बच्ने उपायबारे सर्वसाधारणले बुझ्नेगरी प्रचारप्रसार गर्नुपर्ने, श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था गर्नुपर्ने, विदेशमा रहेर नेपाल फर्कन चाहने नेपालीलाई फिर्ता ल्याउनुपर्ने, व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रबन्ध गरिनुपर्ने, सीमामा फसेका नागरिकलाई स्वदेश फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने, नेपाल भारत सीमा विदेशीका लागि पूर्णरुपले बन्द गर्नुपर्ने लगायतका सुझाव उनले सरकारलाई दिएका छन् ।