पोखरा वडा नं. १७, २१ र २२ ले कोरोना रोकथाम रणनीति बनाएका छन् । आइतबार बसेको पोखरा १७ का अध्यक्ष एवं उपसमिति संयोजक तीर्थराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले क्वारेन्टाइन स्थलहरु पहिचानसहित अत्यावश्यक वस्तु र सेवाको उपलब्धताबारे विभिन्न निर्णय गरेको हो ।
बैठकमा २१ का अध्यक्ष खगराज आचार्य, २२ का अध्यक्ष मित्रलाल बराल, महानगर स्वास्थ्य महाशाखाका प्रतिनिधि सुजाता पोखरेल लगायत सहभागी थिए । बैठकले अत्यावश्यक खाद्यान्न, खाना पकाउने ग्याँस, पशुका दाना आदि यसअघि आपूर्ति गर्ने डिलरहरुसँग समन्वय गरी सहज रुपमा आपूर्तिका लागि पहल गर्ने निर्णय गरेको छ । अनाथ, अपांग, अति विपन्न, दैनिक ज्यालादारी गरी जीवन धान्नेहरुको विपद् व्यवस्थापन समिति, वडा सदस्यहरु, टोल विकास संस्थाहरुसँग समन्वय गरी पहिचान गर्ने र पहिचानपछि उचित व्यवस्थापन गरिने भएको छ ।
महानगरले बनाएको क्वारेन्टाइनले अपुग भएमा यी ३ वडाका लागि होटल अमेजनमा ११ बेड तयार गरिएको छ । सोही होटलमा थप २२ बेड तयार हुने क्रममा रहेको र यी बेड पनि अपुग हुने अवस्था आएमा वडा नं. २१ का भविष्य निर्माण मावि कृष्ति र जनचेतन मावि निर्मल पोखरी क्वारेन्टाइनका लागि उपयोग गर्ने निर्णय भएको पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए ।
वडा नं. २२ का लागि शुक्रराज मावि पुम्दीपुम्दी र पोखरा १७ का लागि छोरेपाटन मावि, पार्दी मावि र जानकी माविलाई प्रयोग गर्न सकिने निर्णय भएको छ । यी ३ वडाका नागरिकका लागि एम्बुलेन्स आवश्यक भएमा अर्जन खत्री क्षेत्री (९८५६०२३३६८) पोखरा महानगर स्वास्थ्य महाशाखा, डा नारायण गौतम (९८५६०२०३९९)विभूति अस्पताल, डा मानबहादुर गुरुङ(९८५६०३३७४४) विभूति अस्पताल, पुष्प बराल (९८५६०३२९१९)डेविजफल क्लब र नवराज बराल (९८४६८४१८००) पोखरा २२ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नागरिकलाई सुरक्षित र अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि ३ वटै वडाले संयुक्त पहल गरेको कार्यपालिका सदस्य राधिका शाही योगीले बताइन् । विदेशबाट आएका व्यक्ति बसेको घरमा पहेलो र लक्षण देखिएका घरमा पहेलो चिह्न लगाइने भएको छ । कोरोनाबारे जानकारी टोल विकास संस्था, महिला स्वास्थ्य स्वंयसेविका, स्वास्थ्य संस्था र वडाले यथाशक्य सम्बन्धित निकायमा पु¥याउने तय भएको छ ।
एक्लै वा सामूहिक रुपमा हिडडुल गर्नेहरु माथि पनि कडाइ हुने भएको छ । उनीहरुलाई सम्झाउने र त्यसो गर्दा नमाने वडामा जानकारी गराई सुरक्षकर्मीमार्फत कडाइका साथ निगरानी गर्ने बैठकले निर्णय गरेको छ ।






