युवतीको हेलचेक्र्याईले बागलुङमा त्रास

बेल्जियमबाट बागलुङ आएकी कोरोना पुष्टि भएकी युवती घरमै छिन् । संक्रमण पुष्टि हुनुअघि ज्वरो आउँदा जचाउन जान नमानेको, गाउँ डुलिरहेकाले स्थानीयबासी अहिले आतंकित छन् ।

बागलुङ नगरपालिका मेयर जनक पौडेलले ती युवतीले सुरुदेखि नै क्वारेन्टाइनमा नबसेर बजार, गाउँ डुलिरहेकाले अहिले बागलुङ पुरै आतंकित भएको बताए । बागलुङ नगरपालिका ४ कुँडुले घर भएकी उनी चैत्र ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएकी थिइन ।

१९ वर्षिय ती युवतीको धौलागिरी अञ्चल अस्पतालमा संकलन गरिएको नमूना कोभिड १९ पोजेटिभ देखिएको थियो । यसबारे शनिबार जिल्ला प्रशासन कार्यालयमा बैठकसमेत भएको थियो ।

बुवा आमा बेल्जियममै भएकी उनी दुई महिना बेल्जियम घुमेर फर्किएकी हुन् । युवतीले सुरुमा आफूलाई सामान्य ज्वरो आएपछि स्वास्थ्य परीक्षणसमेत उनले आनाकानी गरेकी थिइन्। गत बिहीबार बागलुङ नगरपालिकाको पहलमा उनको स्वाबको नमुना संकलन गरिएको थियो।

अहिलेसम्म घरमै होम क्वारेन्टाइनमा बसेकी उनको अवस्था सामान्य छ । घरमै सेल्फ क्वारेन्टाइनमै राख्ने व्यवस्था गर्न निर्देशन दिइएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए ।

त्यो विमानमा सवार १ सय ५८ यात्रुकै खोजी थालिएको छ । त्यो विमानमा बागलुङकै ३ जना आएको जनाइएको छ ।