गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो एक महिनाको पारिश्रमिक दिने भएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा हालै स्थापित कोषलाई प्रदेश प्रमुख शेरचनले आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारमा कोषको नाममा रहेको खातामा रकम जम्मा गर्नका लागि प्रदेश प्रमुख शेरचनले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । शेरचनले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सम्पूर्ण नेपालीलाई अपीलसमेत गरेका छन् ।






