नोभल कोरोनाको संकट चिर्न भन्दै विभिन्न संघ संस्थाले बनाएका राहत कोषलाई सरकारले अवैध ठहर गरेको छ।
कोरोना रोकथाम उच्चस्तरीय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले मिडिया हाउस तथा अन्य संघ संस्थाले बनाएका राहत कोषले रकम संकलन गर्न नपाउने निर्णय गरेको हो। समितिका सदस्य तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले यो जानकारी दिएका हुन् ।
उनले सरकारले नै राहत कोष बनाइसकेको सन्दर्भमा अरु सबै संस्थाले संकलन गरेको रकम सरकारी कोषमै जम्मा गर्नुपर्ने बताए । उनले संघ संस्थाले बनाएका कोषमा आफू मातहतका व्यक्ति या कर्मचारीको मात्रै रकम जम्मा गर्न पाइने जानकारी दिए ।
यसअघि स्थापना गरिएका राहत कोषको रकम दुरुपयोग भएको गुनासो आएपछि सरकारले राहत कोषका नाममा हुने विकृति रोक्न यस्तो कदम चालेको हो। केही संघ, संस्था र मिडियाले समेत कोष निर्माण गरी सहयोग संकलन थालेका छन् ।






