गण्डकीमा सवारी सञ्चालन रोकियो, प्रदेशका नाकाहरु बन्द

गण्डकी प्रदेश सरकारले मंगलबारदेखि अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएको छ । प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न बनाइएको उच्चस्तरीय निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।


मंगलबारबाट बाग्लुङको बुर्तिबाङ, नवलपुरको त्रिवेणी, तनहुँको आँबुखैरेनी र स्याङ्जाको राम्दीबाट सवारी प्रवेश रोकिने भएको छ । अत्यावश्यकीय मालबाहक सवारी भने चल्न पाउने छन् ।
बैठकले हस्पिटलहरुमा ओपिडी सेवा बन्द गर्ने र इमर्जेन्सी चलाउने निर्णय गरेको छ । विभिन्न स्थानमा क्वारेन्टाइन बनाउने निर्णय गरेको बैठकले लेखनाथको लेखनाथ सामुदायिक अस्पताललाई आइसोलेटेड डेडिकेटेड अस्पताल बनाउने निर्णय लिएको छ ।


थप आइसोलेन बेड आवश्यक परेमा मातृशिशु मितेर अस्पताल उपयोग गरिने भएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले मातृशिशु अस्पताल र क्वारेनटाइनका लागि पोखरा रंगशालाको कभर्ड हल प्रयोग हुने जानकारी दिए ।

यस्तै कोरोनबारे जानकारी लिन हेल्लो डक्टर ०६१५२४०७४ सुरु भएको छ । चाडै टोलफ्री नम्बरसमेत सुरु गरिने भएको छ । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म यो सेवा उपलब्ध हुनेछ ।

हरेक ५० बेड र त्यसभन्दा माथिका अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने तयारी छ । ज्वरो १ सय दशमलब ४ भन्दा बढी आएको भए थप जाँच गरी थप उपचार गर्ने भएको छ । प्रदेशले उपचार कोष खडा गरी १० करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।


सार्वजनिक बस र व्यापार, व्यावसाय मंगलबारबाट बन्द हुनेछन् । सरकारी कार्यालय, खाद्यान्न, औषधी पसलहरु खुला राखिने भएको छ ।

निर्देशक समिति संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय र नेपाल सरकारका निर्णय लागु गर्न निर्देशन दिएका छन् ।


यसैबीच, अहिले दिउसो ३ बजेदेखी बाग्लुङ जिल्ला पनि लक डाउन गरिएको छ ।