‘संकटमा पनि कालोबजारी गर्नेलाई कडा कारवाही’

पोखरा महानगरपालिकाले कालोबजारी गर्ने ब्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको महानगर बजार अनुगमन समितिको बैठकले कोरोनालाई कारण बनाउदै कृत्रिम अभाव सृजना गरी मुल्यबृद्धि गर्ने ब्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

‘दैनिक उपभोग्य सामाग्रीहरु निरन्तर ढवानी भैरहे पनि ब्यवसायीले लुकाएका कारण असहज भएको भन्ने गुनासो आएको छ,’ उपप्रमुख गुरुङले भनिन्, ‘संकटको बेला त्यसलाई मौकाका रुपमा उपयोग गर्न खोज्ने र दैनिक उपभोग्य सामाग्रीको अभाव सृजना गराउन खोज्नेलाई कारबाही हुन्छ । उनले निरन्तर बजार अनुगमन हुने जनाइन् ।

बैठकले बजार अनुगमन निर्देशिका बमोजिम कोरोना भाइरसको कारण बजारमा रोग रोकथामको लागि उपयोगी साधन सेनेटाइटर, मास्क र उपभोग्य सामाग्रीको सहज उपलब्धताको लागि सरोकारवाला सबै पक्षको सहभागितामा नियमित बजार अनुगमन गर्ने समितिले निर्णय गरेको छ । त्यस्तै महानगरपालिका आर्थिक समितिका संयोजक वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेललाई बजार अनुगमनको लागि समन्वय गर्ने जिम्मेवारी बैठकले दिएको छ ।

बजारमा अत्यावश्क सामाग्रीमा कालोबजारी गरेको, मुल्यबृद्धि गरेको बारेमा महानगरबासीको गुनासो भए अध्यक्ष पौडेललाई ९८५६००३०१५ मा सम्पर्क गर्न सकिने उपप्रमुख गुरुङले जानकारी दिइन् ।

महानगर अनुगमन समितिले पोखरामा ६ महिनालाई पुग्ने खाद्यान्न लगायतका सामाग्रीहरु मौजात रहेको समेत दावी गरेको छ । खाद्यान्न आपूर्ती नियमति रहेको र महिना पुग्ने भएकाले महानगरबासी आत्तिनुपर्ने र आवश्यकभन्दा बढि सामाग्री खरिद नगर्न अनुरोध गरिएको छ ।

‘स्थानीय प्रशासन, पोखरा महानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च र पोखरा तथा लेखनाथ उद्योग बाणिज्य संघको सहभागितामा भएको बजार अनुगमनबाट बजारमा उपभोग्य सामान ६ महिना भन्दा बढि अवधिको लागी पुग्ने गरि पर्याप्त मौज्दात रहेकाले आपुर्तीमा अवरोध नरहेकोले उपभोक्ताहरुलाइृ अधिक संग्रह नगर्न र आत्तीनु पर्ने अवस्था छैन,’ उपप्रमुख गुरुङले भनिन् ।

बैठकमा सहभागी खाद्य प्रविधि गुण नियन्त्रण डिभिजिन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेलले खाद्यान्न अभाव नभएको बताउदै भने, ‘बजारमा मुल्यबृद्धि भएको छैन् यदि कसैले मुल्यबृद्धि गरेमा जानकारी दिनुहोला ।’

बैकठले बजार अनुगमन कार्यलाइ प्रभावकारी बनाउन बजार अनुगमन निर्देशिका २०७४ बमोजिम वडा स्तरमा समेत वडा अनुगमन समितिलाई क्रियाशिल बनाई स्थानीय प्रशासनको समन्वयमा आ आफ्नो वडामा बजार अनुगमन कार्यलाई तिब्रता दिन सवै वडाका अध्यक्षहरुलाई अनुरोध गरेको महानगर अनुगमन शाखा प्रमुख किरण कोइरालाले जानकारी दिए ।

उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको बैठकमा प्रमुख मानबहादुर जिसी, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पोखरा महानगर अनुगमन शाखा प्रमुख किरण कोइराला लगायतको उपस्थिति रहेको थियो ।