अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित बुधबार राति पक्रेको छ।
पोखरा महानगरपालिका ५ पर्स्याङको १ मदिरा पसलबाट उनी उनी पक्राउ परेका हुन्। मुद्दाका एक पक्षसँग घुस लिइसकेपछि उनी पक्राउ परेको अख्तियारको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।
संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै उपसचिवसमेत रहेका पराजुलीले घुस मागेका थिए। सुरुमा पराजुलीले ५० हजार रुपैयाँ घुस मागेको र बार्गेनिङका क्रममा ३० हजारमा कुरो मिलेको थियो ।
पराजुलीको कास्की जिल्ला अदालतबाट सर्वोच्च अदालत काठमाडौंमा सरुवा भइसकेको थियो। उनी रमाना पनि बुझेर काठमाडौं हिँड्ने बेला पक्राउ परेका हुन्।




