बद्रीनाथले भर्ती गरे ३ कर्मचारी, बदर गर्न कर्मचारी संघको माग

पोखरा महानगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ अधिकारीले एकलौटी ढंगले कर्मचारी नियुक्ति गरेको भन्दै तत्काल बदर गर्न स्थानिय तह कर्मचारी संघ पोखरा महानगरपालिका इकाई समितिले माग गरेको छ ।

गत माघ २६ गते पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर १ महिना ३ दिनमा सरुवा भएका अधिकारीले सहायक स्तर पदमा ३ जना कर्मचारी नियुक्ति गरेको भन्दै समितिले बदर गर्न माग गरेको हो ।

इकाईका अध्यक्ष शिवप्रसाद बराले जारी गरेको विज्ञप्तिमा अधिकारीले महानगरका प्रमुख, उपप्रमुख र कार्यपालिकालाई थाहा नै नदिई लक्की शेर्पा, सिमा लामिछाने लगायत ३ जनालाई सहायक स्तरमा नियुक्ति दिएको उल्लेख गरिएको छ ।

महानगरमा कर्मचारी धेरै भएर कार्यकक्ष व्यवस्थित गर्न समेत समस्या भएको अवस्थामा स्थानीय तहका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्नेमा उल्टै आफ्ना आसेपासेलाई नियुक्ति दिएर वर्षौसम्म कार्यरत कर्मचारीलाई हतोत्साही बनाउने गरी नियुक्ति गरिएकाले उक्त नियुक्ति तत्काल बदर गर्न विज्ञप्तिमा माग गरिएको छ ।

विज्ञप्तिमा महानगरलाई भर्ति केन्द्र बनाउने प्रमुख प्रशासकीय अधिकृत अधिकारीसहित सम्बन्धित महाशाखा, शाखाका कर्मचारीलाई कारबाही गर्न महानगरका प्रमुखसँग माग गरिएको छ ।

पोखरा महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि समग्र महानगरको विकास दु्रत रुपमा अगाडि बढेको र जनतालाई दिइने सेवा प्रवाहमा पनि सुधार आएको दाबी गर्दै विज्ञप्तिमा सामान्य प्रशासन मन्त्रालयले छोटो समयमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा काममा बाधा पुगेको समेत उल्लेख गरिएको छ ।