विवादस्पद सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको कमिसन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ।
अख्तियारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयललाई पत्र पठाएर सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणसँग सम्बन्धित सम्पूर्ण फाइल माग गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि यो प्रकरणमा छानविन भइरहेको बताए। ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा सञ्चार मन्त्रालयमा अनियमितता भएको भनेर आयोगमा उजुरी प्राप्त भएको थियो’, कोइरालाले भने, ‘सो उजुरी आयोगले ग्रहण गरेको छ र, त्यस विषयमा अनुसन्धान भइरहेको छ।’
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि ८ फागुनमा बास्कोटाले राजिनामा दिएका थिए। बास्कोटामाथी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। स्रोतका अनुसार अख्तियारका तीन जना अधिकारीले अहिले यो प्रकरणको अनुसन्धान गरिरहेका छन्।






