कोरोनाविरुद्ध लड्न मोदीको प्रस्तावमा ओलीको समर्थन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सार्क सदस्यहरुसँग समन्यवय गर्न तयार रहेको बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले कोरोनाविरुद्ध सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्न प्रस्ताव राखेपछि ओलीले उनको समर्थन गरेका हुन्।

मोदीको प्रस्तावलाई प्रधानमन्त्री ओलीले स्वागत गर्दै ट्वीट मार्फत् भनेका छन् ‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु ।’ ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ।’

यसअघि मोदीले ट्विटरमार्फत कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गरेर विश्वलाई उदाहरण पेस गर्न प्रस्ताव गरेका थिए।

यसका लागि सार्कका नेताहरुले भिडियो कन्फेरेन्समार्फत छलफल गर्नसक्ने उनले बताएका थिए ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको यो पहिलो सार्वजनिक अभिव्यक्ति हो ।