सरकारले कोरोनासम्बन्धी तथ्यांक लुकाएको आरोप

समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्यांक लुकाएर राखेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले नेपालका विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको भन्दै दु:ख व्यक्त गरेका हुन् ।

अहिले कोरोनाभाइरसका कारण विश्वका शक्तिशाली देशहरू गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोप समेत उनले लगाए। ‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ?’

उनले कोरोनाभाइरससँग लड्न एउटा विशेष प्लान ल्याउनु पर्ने सझाव दिदैं नेपालको हरेक जिल्लामा सरकारले विशेष चिकित्सकको टोलीसहित हेल्प डेस्क राख्न माग समेत गरेका छन् ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ नागरिक कोरोना भाइरस संक्रमित भएको र उनीहरूलाई क्वारेन्टाइनमा राखिए पनि बाहिर नभनिएको आशंका समेत व्यक्त गरेका छन्।

‘वास्तविकता के हो,’ उनले प्रश्न गरे, ‘के सरकारले जानकारी दिनु पर्दैन ?’