बास्कोटको घरमा विस्फोट गराएको आरोपमा विप्लवका नेता पक्राउ

पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोट गराएको आरोपमा देव बहादुर गुरुङ पक्राउ परेका छन ।पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन ।

देव गुरुङको योजनामा गोकुल बास्कोटाको घरमा बम विस्फोटको गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसैबीच विपल्व नेतृत्वको नेकपाले जारी गरेको पर्चा बास्कोटाको घर नजिक फेला परेको छ । पर्चामा बास्कोटामाथि कारबाही किन गरियो भन्ने १० बुँदामा उल्लेख गरिएको छ ।

विप्लव समूहले पर्चामा बाँस्कोटामाथि लगाएका १०  आरोप यस्ता छन्:

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।

२. २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले।

३. १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा-सुविधाका नाममा करोडौं हिनामिना गरेकाले।

६. सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।

८. राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।