पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम विस्फोट

पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट भएको छ । मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् ।

साथै बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि क्षति पुगेको छ। बमले घरको चार तला माथिको ढोकामा क्षति पुगेको छ। सिसा पनि फुटेका छन्।

घरअगाडि राखिएको बा १९ च ४७८१ नम्बरको भ्यान पनि क्षतिग्रस्त भएको छ।

विस्फोट कसले र किन गरायो भन्ने एकिन भइनसके पनि प्रहरीले ‘प्रतिबन्धित समूह’ले गराएको हुन सक्ने अुनमान गरेर अप्रत्यक्ष रूपमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई संकेत गरेको छ।

घटनास्थलमा रहेका प्रहरी अधिकारीहरुले विस्फोटबाट मानवीय क्षति नभएको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन् ।