गण्डकी प्रदेशमा कोरोनाको उच्च सतर्कता

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका लागि पोखरामा आवश्यक तयारी थालिएको छ । विश्व स्वास्थ्य संगठनले नेपालसमेत कोरोना भाइरसको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरेपछि विशेषगरि गण्डकी प्रदेशको राजधानी पोखरामा सतर्कता अपनाउन शुरू गरिएको हो ।

विश्वका विभिन्न देशहरूमा संक्रमण फैलिन थालेपछि भोलिका दिनमा भैपरी आउने समस्यालाई समाधान गर्न गण्डकी प्रदेश सरकारले पोखरास्थित विभिन्न अस्पतालहरूको समन्वयमा ५ दर्जनभन्दा बढी बेडहरू तयारी अवस्थामा राखेको छ ।

पोखरामा चिनियाँसहित विभिन्न देशका पर्यटकको आवतजावत हुन्छ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन हुने ठाउँ भएकाले पनि कोरोना भाइरसको जोखिम बढी हुने भएकाले उच्च सतर्कता अपनाइएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

गण्डकी प्रदेशको सीमाना चीन र भारतसँग जोडिएको छ । यही खुला सीमाका कारण चिनियाँ र भारतीय पर्यटकहरू सिधै नेपाल प्रवेश गरी पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखरामा भित्रिन सक्ने भएका कारण पनि गण्डकी प्रदेश कोरोनाको उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ ।

यही जोखिमलाई मध्यनजर गरी गण्डकी प्रदेश सरकारले आवश्यक सतर्कता अपनाउँदै उपचारात्मक, प्रबद्र्धनात्मक र प्रचारात्मक कार्यका लागि ‘टास्क फोर्स’ गठन गरिसकेको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद बिन्दु शर्माको संयोजकत्वमा गठित टोलीले नै कोरोना भाइरस संक्रमणको सतर्कता अपनाउने कार्य शुरु गरेको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् ।

उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा निर्देशक समिति समेत बनाइएको जानकारी दिइन् ।

उनले भैपरी आउने समस्याका लागि पोखरास्थित चरक अस्पतालमा ३८, गण्डकी मेडिकल कलेजमा १५, मणिपाल अस्पतालमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ सहित ७१ वटा वेड तयारी अवस्थामा राखिएको बताइन् ।

साथै पोखरास्थित आइएनएफको प्रांगणमा पनि टेण्ट राखेर ५० बेड तयार गर्न लागिएको मन्त्री पुनले जानकारी दिइन् ।

मन्त्री पुनका अनुसार प्रदेश सरकारले प्रदेशका दुई स्थानमा हेल्थ डेस्कको स्थापना गरेको छ । हवाईमार्गमार्फत पोखरा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरूको अवस्था बुझ्न पोखरा विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिसकेको छ ।

विमानस्थलबाट पोखरा भित्रिने यात्रुहरूलाई ज्वरो, रूघाखोकी जाँच गरिँदै आएको छ । हालसम्म कसैमाथि पनि कोरोना संक्रमण नदेखिएको हेल्थ डेस्कले जनाएको छ ।

प्रदेश सरकारले केन्द्र सरकार र आइएनएफको सहयोगमा १५ वटा ‘पर्सनल प्रोटेक्ट इक्विपमेन्ट’ किन्ने तयारी गरेको छ ।

बेड छुट्याएका अस्पतालका स्टाफलाई अस्पतालमै पुगेर तालिम दिन लागिएको छ । प्रदेश सरकारले उत्तरी नाका कोरला नजिकै मुस्ताङस्थित एक्यापको कार्यालयमा हेल्थ डेस्क स्थापना गरी कर्मचारी खटाएको मन्त्री पुनले जानकारी दिइन् ।

यता, कोरोना भाइसको असरबाट पोखराको पर्यटन व्यवसाय पनि अछुत्तो छैन । कोरोना भाइरसले पोखराको पर्यटन व्यवसायमा धक्का पुगेको व्यवसायीले बताएका छन् ।

पोखराका पर्यटन व्यवसायीका छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन व्यवसायीको मुख्य सिजनमा कोरोना फैलिएकाले व्यावसायमा प्रत्यक्ष असर परेको बताए ।

उनले पर्यटन व्यवसायीले पनि कोरोना भाइरसबारे जनचेतना फैलाउने, न्युनिकरणका उपाय जस्ता कार्यहरू गरिरहेको जानकारी दिए ।

अध्यक्ष पोखरेलले कोरोनाको असरले पर्यटन व्यवसायी संकटमा परेकाले बैंक लोन र लोनको व्याज तिर्ने समयसीमा बढाउनुपर्नेमा जोड दिए । यसका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

पर्यटन व्यवसायी कृष्णकुमार श्रेष्ठले कोरोना नेपालमा नआएको भए पनि हल्लाले नै व्यवसाय ठप्प हुने अवस्थामा पुगेको बताए । उनले पर्यटन व्यवसाय मात्र होइन नेपालको सबै क्षेत्रमा असर पुर्याएको जानकारी दिए ।

पर्यटकीय नगरी पोखरा कोरोना भाइरसको उच्च जोखिममा छ । पोखरामा हवाई उडान र सडक मार्ग हुँदै विभिन्न देशका पर्यटकहरूको आगमन हुने भएकाले कोरोना भाइरसको उच्च जोखिम रहेको हो ।

दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले आयात तथा निर्यात गर्दै आएकाले पनि पोखरा र गण्डकी प्रदेश कोरोनाको उच्च जोखिममा रहेको हो ।

कोरोना गण्डकी प्रदेशमा भित्रिन नदिनका लागि उच्च सतर्कता अपनाउन सरकारले गरिरहेको तयारीलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर युद्ध स्तरमा काम गर्न जरुरी छ ।

यसबारे पर्याप्त मात्रमा सावधानी अपनाएर नागरिकलाई पनि भयमुक्त वातावरणमा राख्न र यहाँको पर्यटन लगायत समग्र क्षेत्रलाई चलाउमान बनाउनका लागि सरकारको ध्यान पुग्न आवश्यक छ ।